Monday, December 13, 2010

अल्पसंख्यकले भूमि मागे


कान्तिपुर संवाददाता




काठमाडौ, मंसिर २६ -
लोपोन्मुख जनजातिले जीविकोपार्जनका निम्ति सरकारसित जग्गाको माग गरेका छन् । पहिचान गरिएका लोपोन्मुख १० जनजातिका २५ प्रतिनिधिले आइतबार स्थानीय विकास मन्त्री पूर्णकुमार सेर्मालाई भेट गरी उक्त माग राखेका हुन् ।

मन्त्रालयअन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले विभिन्न जिल्लाको भ्रमण गराएपछि मन्त्रीसमक्ष आ-आफ्नो समस्या राखेका छन् । लोपोन्मुख जातिहरूमा राजी, कुसुन्डा,  राउटे, कुशबाडिया, वनकरिया, सुरी, किसान, मेचे, लेप्चा र हायु छन् । उनीहरूका प्रतिनिधिलाई इलाम, झापा, धनकुटा, चितवन र पोखरा भ्रमण गराइएको हो ।

भ्रमण टोलीलाई जनजातिको बसोवास क्षेत्र तथा ठाउँ अनुकुलको कृषि उत्पादन, परम्पराको संरक्षण तथा सहकारीमार्फत् गरिएको विकासका नमुनाबारे जानकारी दिइएको प्रतिष्ठानका अधिकृत दिवश राईले बताए । भ्रमणमा संलग्नमध्ये राजी र कुसुन्डा भूमिहीनमा पर्छन् ।

'सरकारले जग्गा दिए हामी पनि यस्तै सहकारी स्थापना गर्न तयार छौं', भ्रमणपछि राजधानी आइपुगेका चित्रबहादुर राजीले मन्त्रीसमक्ष भने, 'हामीले देखेको र भोगेको समस्या मन्त्रीज्यूले बुझिदिनुस् । सरकारलाई सुनाइदिनुस् ।' सरकारले राउटे जातिलाई २०३७ सालमा डडेलधुराको जोगबुढा गाविसमा जग्गा उपलब्ध गराएर स्थायी बसोबास गराएको छ । त्यहाँ करिब ४२ घरपरिवार छन् भने सुर्खेतमा रहेका  राउटे स्थायी बसोबास गर्न नचाहेकाले घुमन्ते जीवन बिताइरहेको प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरातले बताए ।

लोपोन्मुख टोलीलाई आइतबार ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान केन्द्रको भ्रमण गराइएको थियो । त्यसलगत्तै प्रतिष्ठान र मन्त्रालयमा आफ्ना समस्या राख्न लगाइएको थियो । जातीय पहिचानलाई संविधानले सम्बोधन गर्नुपर्ने,  शिक्षा, स्वास्थ्यलगायतका विषयमा विशेष सुविधा पाउनुपर्ने मागसमेत गरेका छन् ।

प्रकाशित मिति: २०६७ मंसिर २७ ०९:०५


http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=232330

No comments:

Post a Comment