Wednesday, July 30, 2014

माइपोखरीको अस्तित्वसँगै आदिवासीको संस्कृति पनि संकटमा

सन्तोष नेम्वाङ
इलाम

जैविक विविधताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण क्षेत्र र धार्मिक तथा सांस्कृतिक रुपमा पनि विविधयुक्त छ इलामको माइपोखरी । माइपोखरी करिब दुई हेक्टर क्षेत्रफल छ । पोखरीको दक्षिणी कुनामा प्रवेशद्धार छ भने पूर्वी कुनामा किरातधर्म आस्थाको शिवमन्दिर, उत्तरी दिशामा हिन्दुहरुको धार्मिक अनुष्ठान गर्न बनाइएको टहरा छ । पोखरीको वरिपरि विभिन्न जातका स्थानीय बोटविरुवा, जडीबुटीहरु पाइन्छन् भने विभिन्न जातका वन्यजन्तु, चराचुरुङ्गी, माछाहरु पाइन्छन् । यही पोखरीको आसपासमा बस्ने गर्थे आदिवासी सुनुवारका पूर्खाहरु । उनीहरुका पूर्खाहरुको भेडागोठ थियो, पोखरी आसपासमा पाइने मालिङ्गो, बाँसको चोयाबाट डोको, नाम्लो, डालो, थुन्छे, आदि बुनेर बेसीतिरका छिमेकीहरुसँग धानचामल, नुन साटी ल्याउँथे । नजिकैको बजारमा भेडाको घ्यू मानादेखि धार्नीसम्म बेच्थे । हत्तपत रोगी बिरामी हुँदैनथे सुनुवार परिवारमा । भइहाले पनि स्थानीय जडिवबुडीको प्रयोग गर्थे । उभौली र उधौलीमा सेउली काट्न, मौसमअनुसार सिकार खेल्न, शुद्ध जल प्रयोग गर्न, घाँस दाउरा लिन माईपोखरी आसपासमा नै जान्थे । तर अहिले पहिलाजस्तो माइपोखरी आसपासको क्षेत्रमा सहजै आवतजावत गर्न पाइँदैन । पोखरीमा पानीको सतह पनि घट्दै गएको छ, पोखरीमा फोहोरको थुप्रो बढेको छ, समय समयमा बनेको माई पोखरीको गुरुयोजनाहरुले उनीहरुको साँस्कृतिक अधिकारमाथि बन्देज लगाएको छ, पोखरी आसपासका वनलाई धार्मिक वन र सामुदायिक वन बनाएपछि उनीहरुको परम्परागत ज्ञान सीपहरु पनि संकटमा पर्दै गएका छन् ।


माईपोखरीको अस्तित्वसँगै सुनुवार समुदाय लगायत स्थानीयवासी र आदिवासीहरुको परम्परागत संस्कृतिहरु प्नि संकटमा पर्दै गएकोप्रति चिन्ता रहेको स्थानीय कलम मुखिया बताउनु हुन्छ । मुखियाको भनाइ छ् “आदिवासीहरु प्रकृतिपूजक भएकोले हाम्रो सम्बन्ध जल, जमिन र जंगलसित छ, तर विभिन्न किसिमका वन ऐन लागू भएपछि हाम्रा पुर्खाले गर्दै ल्याएको भेडी गोठसँगै राडीपाखी बुन्ने सीप हरायो, मालिङ्गो काट्न नपाएर बाँसका सामग्रीहरु हराउँदैछन्, पोखरीको पानी सुक्दै जान थालेपछि हाम्रो जलदेवी, वन देवीहरुलाई कसरी पुज्ने ?”

माइपोखरी संरक्षणमा धेरै निकायले काम गर्दै आएको भएपनि पोखरी संरक्षण हुन नसकेको स्थानीयको चिन्ता छ । ‘पोखरी संरक्षण गर्ने भन्दै विभिन्न गैरसरकारी संस्था र जिल्लास्थित कार्यालयले काम गर्छन भन्ने सुनिन्छ’ स्थानीय दिनेश सुवेदीले भन्नुभयो ‘कसले के गर्छ हामीलाई थाहा हुँदैन, माइपोखरीको लागि भन्दै वर्षेनी बजेट खर्च हुन्छ तर त्यसको संरक्षणमा ठोस काम भएको छैन ।’ माइपोखरी आर्थिक मूल्यका विषयमा खोज गरेका विष्णु काफ्लेले माइपोखरीबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा इलामका लागि वार्षिक औषत आम्दानी ३ करोड २८ लाख २९ हजार रुपैयाँ हुने गरेको जानकारी दिनुभयो । ‘यत्रो आर्थिक महत्व भएको पोखरीको पानीको सतह वर्षेनी घट्दैछ’ उहाँको भनाइ थियो, ‘हाम्रो जिल्लाको आम्दानीको स्रोत बचाउन माइपोखरीको वैज्ञानिक परीक्षण हुन जरुरी छ, त्यसपछि गरिएको संरक्षणको प्रयास मात्र प्रभावकारी हुन्छ ।’

माइपोखरीमा सरकारी तवरबाट संरक्षणका कार्य गर्दै आएका जिल्ला वन अधिकृत राजेन्द्र काफ्लेले गैरस्थानीय प्रजातिको जापानी सल्ला, गैरस्थानीय माछा, पोखरी नजिकैको मोटर बाटो, फोहोर मैला पोखरीमा पानी सुक्नुका कारण भएको बताउनुभयो ।

केही बर्ष पहिला माइपोखरीमा पानीको सतह घट्न नदिनका लागि जिविस इलामले पोखरीको लेदो हटाएको थियो । त्यस्तै सीमसार क्षेत्रको सीमाङ्कन, अल्पकालिन ब्यवस्थापनका लागि रिचार्ज पोखरी मार्फत पानी हाल्ने काम शुरु भइसकेको स्थानीय विकास अधिकारी मदन कोइरालले बताउनुभयो । त्यस्तै जिल्ला वन कार्यालय इलामले पोखरी आसपासका सामुदायिक वनहरुको कार्ययोजना तयार पारी जापानी सल्लालाई क्रमशः हटाउँदै स्थानीय प्रजातिका विरुवाहरुको बृक्षारोपण थालिएको जिल्ला बन कार्यालय इलामले जनाएको छ ।

त्यसैगरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले विशेष भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २०५८ सालमा माईपोखरी गुरुयोजना तयार गरी उत्तर र पश्चिमतर्फका सानापोखरीमा चेकड्याम निर्माण शुरु गरेको इन्जिनियर सुरेश कुमार नेम्बाङले बताउनुभयो । तर, पोखरी संरक्षण हुन सकेको छैन ।

सन् २००८ अक्टोवर २८ मा रामसार सूचीमा सूचीकृत माइपोखरी सीमसार क्षेत्र नेपालको नवौ र मध्य पहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र हो । जैविक विविधता तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको माइपोखरीलाई इरानको रामसारमा भएको रामसार महासन्धिको दशौं बैठकले विश्व संरक्षण सूचीमा सूचीकृत गरेको थियो । यो क्षेत्रमा रैथाने, गलैंचे, झ्याउ, रुख भ्यागुत्तो, ठकठके जस्ता दुर्लभ बन्यजन्तु तथा वनस्पति पाइन्छन् । प्रकृति र संस्कृतिको जीवन्त महसुस गर्न सकिने यो क्षेत्रमा तीन सयभन्दा बढी प्रजातिका चराहरु, १७ प्रजातिका सुनाखरी, गुराँस, ६२ प्रजातिका जडीबुटी, २ सय ३१ प्रजातिका बोटबिरुवा, ३ प्रजातिका रैथाने माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातिका सर्प र १४ प्रजातिका स्तनधारी प्राणी तथा लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुर माइपोखरी क्षेत्रमा पाइने गरेको अनुसन्धानकर्ताहरु बताउँछन् । २ हजार १ सय २१ मिटरको उचाइमा रहेको माइपोखरी ९० हेक्टर क्षेत्रफल जमिनमा फैलिएको छ । यसको १ दशमलव ८५ हेक्टर जलाशय सहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताका दृष्टिले अति संवेदनशील मानिन्छ ।

Source: NEFIN Climate Change Program Newsletter June 2014

No comments:

Post a Comment