Sunday, March 23, 2014

“ठमेलभित्रको ठमेल” बनाउन गुठीको जग्गा हड्पिँदै

७ चैत्र २०७०, काठमाडौँ

काठमाडौँको पर्यटकीय क्षेत्रमा निर्माणाधीन “ठमेलभित्रको ठमेल” भनेर चिनाइएको छायाँदेवी कम्प्लेक्सको निर्माणको लागि नजिकै रहेको थं विहारका परम्परागत कार्यको लागि प्रयोग गरिँदै आएको प्राचीन कमल पोखरीको गुठी जग्गा हरण हुने भएको छ ।

सात व्यवसायीको ३ अर्ब रुपैयाँ लगानी रहेको सेन्टर आगामी दुई वर्षभित्र संचालनमा आइसक्ने छ । मल्ल होटलको पछाडी करिव १५ रोपनी क्षेत्रफलमा छायाँदेवी कम्प्लेक्सले व्यवसायिक भवन निर्माण गर्न लागिएको हो । सो कम्प्लेक्सको निर्माणको लागि नजिकै रहेको थं विहार (विक्रमशील महाविहार)को परम्परागत धर्मकृतिको लागि प्रयोग हुने गरेको कमल पोखरीको जग्गा पनि प्रयोग गर्न लागिएकोे छ । उक्त विषयमा उक्त महाविहारका ६ जना गुठियारहरुले पोखरी गुठी जग्गाको रुपमा सार्वजनिक नै रहनुपर्ने माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरी मुद्दा विचाराधिन अवस्थामै रहँदा पोखरी भित्र पर्ने गरी निर्माणस्थल वरिपरि पर्खाल लगाएर कम्प्लेक्सको निर्माणकार्य धमाधम अघि बढाइएको छ ।


थं वहिल (ठमेल)को प्राचीन नाम सिंह कल्पनगर हो । यस क्षेत्रका सामन्त राजा श्री सिंहसार्थ वाहरा लगभग मल्लकालको पूर्वाद्घमा एक विशाल विहारको निर्माण गराए । यिनीद्वारा बौद्घ धर्म अनुशरण गरी सिद्घ भई यिनी भगवान कहलाइयो । उक्त विहार कान्तिपुरको उत्तरी माथिल्लो भेकमा पर्ने भएको थं विहार भनियो । थं वहिलबाट यस क्षेत्रको नाम ठमेल हुन गएको हो । उक्त विहारलाई विक्रमशील महाविहार भनिन्छ । सामन्त राजा श्री सिंहसार्थ वाहलाई ठमेल प्रधानहरुका पूर्वज भनिन्छ । प्रधानहरुका पूर्वजहरुद्घारा यसक्षेत्रमा सामन्तको हैसियतले प्राचीन समय देखि मल्लकालको उत्तराद्र्घ सम्म शासन गरेको देखिन्छ । प्रधानका पूर्वजहरुले धर्म किर्तिका निम्ति तथा यस स्थानका शोभा बढाउने खालका कैयन ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्व बोकेका धर्मशाला, ढुंगेधारा, पोखरी, चोक, डबली पाटी, मन्दिर आदिहरु निर्माण गराए । कैयन गुठीहरु राखेर गए । जात्रा पर्वहरु प्रचलनमा ल्याए । धार्मिक नाचहरु देखाउने चलन चलाए । उक्त गुठी सञ्चालन गर्नको निम्ति प्रशस्त जग्गाहरु राखिदिए ।

यस विहारको पूर्वतिर डवली सहितको चोक छ । उक्त चोक परापूर्वकालदेखि धार्मिक जात्रा तथा नाचको निमित्त प्रयोग भैरहेको गुठीजन्य सार्वजनिक डवली सहितको चोक हो । यस क्षेत्रको नापी हुँदा कित्ता नं १०४० मा पर्ने ९ आनाभन्दा बढी क्षेत्रफलको यो चोक नापी शाखामा रहेको फिल्ड बुकमा समेत सार्वजनिक चोक जनाइएको छ । गुठी संस्थानमा रहेको फिल्ड बुकमा पनि जग्गा धनकिो नाम गरुड भगवान गुठी उल्लेख गरिएको छ  यस्तो  सम्पदाहरु व्यक्तिगत तवरमा दर्ता हुने, मोही लाग्ने, लेनदेन, बेचविखन हुने  मुलुकमा कुनै कानुनी प्रावधानहरु नभएकोले उक्त फिल्ड बुकमा अरु महलहरु रिक्त छन् ।

परापूर्वकालदेखि चलिआएको श्री लुमडी भद्रकालीको प्रख्यात १२ वर्षे धार्मिक नाच यस विहारका गुठीयारहरुले उक्त नाचका प्रमुख व्यक्ति संग परामर्श गरि उपर्युक्त समय निर्धारण गरेर नाच देखाउन निमन्त्रणा गरी डवलीको पश्चिम भागमा विधिपूर्वक पूजा गरेर भोज खुवाई नाच देखाउने चलन रहिआएको छ । हाल आएर यस्तो चोक व्यक्तिको नाममा (श्रीमती अम्विका राणा) दर्ता गरिएको छ । उक्त चोकको स्वरुप परिवर्तन गरिएको छ ।

यस चोकको पछाडि पूर्वतिर परापूर्वकालमा स्थापना गरेको  सुन्दर कमल पोखरी थियो । त्यस पोखरीमा कमलको फूल फुलाई उक्त फूल टिपि विहारको भगवानलाई चढाई दिनहु नित्य स्नान तथा पूजा  गराइने तथा पोखरीको डिलमा स्थानीयहरुले गरेका श्राद्वको पिण्ड फाल्ने धार्मिक सस्कार गर्ने परम्परा रहिआएको थियो । मालपोतमा रहेको यस विहारको गुठीको १९६५ सालको  गुठीको लगतमा कमलपोखरी डिलसमेतको जग्गा उल्लेख गरिएको छ । उक्त जग्गा मध्ये शहरी क्षेत्रमा नापी हुदा कित्ता न १६७ मा पर्ने यो पोखरी २०३३ सालको नापी शाखामा रहेको फिल्ड बुकमा समेत सार्वजनिक पोखरी जनाई बाँकि महलहरु रिक्त छोडिएको छ । गुठी संस्थानमा रहेको फिल्ड बुकमा समेत जग्गा धनीको महलमा गरुड भगवान गुठी उल्लेख गरिएको छ भने जग्गाको क्षेत्रफल १२ रोपनीभन्दा (१२।१३।२।३) उल्लेख गरिएको छ ।

यस्तो धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक, महत्व वोकेको गुठीजन्य सार्वजनिक सम्पदाका पोखरी र डिल राणकालमा बलजफती दरवारको शोभा बढाउन भनेर केशर शमसेरले आफ्नो कम्पाउण्ड भित्र पारे । केही समय सम्म स्थानीयहरुलाई परापूर्वकालदेखि चलिआएको धार्मिक परम्परा कायम नै राख्ने बाहानामा सानो ढोका बनाई आवत जावत गर्न दिए ता पनि केही समय पश्चात धर्म, सांस्कृतिक, परम्परानै नष्ट हुुने गरी उक्त ढोका वन्द गरियो । पोखरीको डिलमा विभिन्न देवीदेवताहरुको मूतिहरु तथा चैत्यहरु थिए जहाँ दिनहुँ नित्य पूूजा गरिने परम्परा रहिआएको थियो । सम्पूर्ण देवीदेवताहरुको मूतिहरु तथा चैत्यहरु नष्ट गरिएको छ भने ५०० साल भन्दा पुरानो रुख उक्त स्थानमा कायम नै छ । केशर शमसेर राणाले उक्त पोखरी लिए पश्चात  त्यस पोखरीको कमलको  फूल टिपि विहारको भगवानलाई चढाई दिनहु नित्य स्नान, पूजा  गराइने तथा उक्त पोखरीको डिलमा स्थानीयहरुले गरेका श्राद्वको पिण्ड फाल्ने धार्मिक सस्कार गर्ने परम्परा नष्ट भएको छ । भने धार्मिक पिण्ड फाल्ने संस्कार कायम राख्न हाल स्थानीयहरुले  सरस्वती मन्दिर पछाडि रहेको ढुंगामा पिण्ड फाल्ने कार्य गर्दछन् ।

पछि केशर शमसेरले सालान्या १२५ विहारको गुठीलाई उक्त पोखरी प्रयोग गरेबापत दिने गरियो । मोही नलाग्ने, व्यक्तिगत नाममा दर्ता नहुने गुुठीजन्य सार्वजनिक  पोखरी दर्वारिया शक्तिको आडमा आफुलाई उक्त विहारको गुठीको मोहीमा दर्ता गराए । केशर शमसेरको मृत्यु पश्चात मोहियानी छोरा केयुर शमसेरमा सारिने काम भयो । केयुर शमसेरद्वारा उक्त पोखरी र डिलको केही भाग सस्कृति परम्परा नै नष्ट हुने गरी पुर्ने काम गर्न थालियो । यस्तो नहुन दिन विहारका गुठियारहरुदारा धर्मलोपको मुद्दा दिएकोमा तह तह फैसाला हुंदा २०३३ सालमा सर्र्बाेच्च अदालतबाट धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक, महत्व वोकेको गुठीजन्य सार्वजनिक सम्पदाका पोखरीको पोखरी र डिल नै कायम गर्र्नै गरी दुवै पक्ष विच मिलापत्र गराइयो । गुठीजन्य सार्वजनिक  सम्पदा ः  पोखरीमा मोही लाग्ने मुलुकमा कुनै कानुनी प्रावधान नभए ता पनि उक्त मिलापत्रमा केयुर शमसेर मोही भै पोखरी प्रयोग गर्न पाउने  उल्लेख गरिएको छ ।

उक्त विहारको गुठीको सार्वजनिक पोखरी नष्ट गरिएको केही भाग दरवारिया शक्तिको आडमा गुठी संस्थानको मिलोमोतोमा २०३९ सालमा गुठी रैतानीमा परिणत गरी ०–६–० सुधा पौडयाललाई र २–१०–० विना पौडयाललाई  १६१६, १६१७  कित्ताकाट गरी उक्त पोखरी पुरेको जग्गा केयुर शमसेरले राजिनामा गरिदिए । १६७ कित्ता नम्बरमा पर्ने बांकि पोखरी पुरेको जग्गा केयुर शमसेरको नाममा नै १६१८ कित्ता नं कायम रहन गयो ।

केयुर शमसेरको मृत्यु पश्चात १६१८ कि. न. अम्बिका राणाले नामसारी गरे कित्ता नं १६१६ र १६१७ अम्बिका राणाको नातेदार शकर प्रशाद शाहले २०४४  सालमा राजिनामा गरिलिए पछि अम्बिका राणा र शकर प्रशाद शाहले २०४७ सालमा गुठी रैतानी कायम गरे । गलत तरिकाले गुठी रैतानी कायम भएको हुदा गुठी सस्थान केन्द्रिय कार्यालयले २०४७ सालमा त्यस्तो पोखरी र डिलमा मोही नलाग्ने गुठी रैतानी नहुने भनि रोक्का राखे । सो रोक्का राखेको बदर गरी पाउ भनि अम्बिकाराणा र शकर प्रशाद शाहले मुद्दा गरेकोमा जिल्ला अदालतले निर्णय बदर हुने भनि भएको फैसला २०५३ सालमा पुनराबेदन अदालतले सदरको फैसला बदर गरि पाउ भनि गुठीयारहरुले  धर्मलापको मुद्दा गरेकेमा २०६२ सालमा अम्बिका राणाले  एक करोड पचास लाख  उक्त विहारको गुठीलाई दिई सम्पूर्ण मुद्दा छोडने गरी जिल्ला अदालतमा गुठी सस्थानलाई जानकारी नदिई कानुन विपरित मिलापत्र गरियो । २०२४ सँलमा विक्रमशील महाविहारका गुठी उक्त विहारको गुठीयारहरुको पहलमा राजगुठी छुट गुठीमा परिणत गराई सम्पूर्ण उक्त गुठी अधिनस्त जग्गाहरुको लगत खडा गरी गुठी संस्थानलाई जिम्मा दिई गुठीयारहरुको सम्पूर्ण हक अधिकारसमेत गुठी संस्थानलाई सुम्पेकोले  यस विहारका गुठीयारहरुले गरेको मिलापत्र कानुन बिपरित हुन आउंदछ भने मुलुको सार्वजनि ऐतिहासिक सास्कृतिक धार्मिक धरोहरको संरक्षण गर्न  धर्मलोपको मुद्दा दायर गर्ने  अधिकार सरोकारवालमलाई मात्र नभई मुलुका सम्पूर्ण नागरिकहरुलाई जुनै बेला पनि छ ।

कित्ता नं १६७ को पोखरीको जग्गाबाट कित्ताकाट भै आएको कित्ता नं १६१६, १६१७ को जग्गा शकर प्रशाद शाहले प्रतिमा पाण्डेलाई २०६४ सालमा राजिनामा गरे । अम्बिका राणाले कित्ता नं १६१८ को जग्गा मध्येबाट ९।९।२।२ सुरेशाय हाउजिंगलाई २०६३ सालमा राजिनामा गरि दिएपछि कित्ताकाट भै २४१२ कायम रहयो । सुरेशाय हाउजिंगले कित्ता नं २४१२ को २०६४ सालमा प्रतिमा पाण्डेलाई राजिनामा गरि दिएको उक्त कित्तासहित कित्ता नं १६१६, १६१७ प्रतिमा पाण्डेले प्राप्त गरिसके पछि २०६५ सालमा छायादेवी कम्प्लेक्सले लिखत गरि लिए ।

यसरी मुलुकको ए्ेतिहासिक धरोहर नष्ट गरेर कानुन विपरित मोही कायम गराई केही गुठीयारहरु, गुठी सस्थानका तत्कालीन पदाधिकारिहरु, मालपोतका पदाधिकारिहरु तथा नगरपालिकाका पदाधिकारिहरुको समेत मिलोमोतोमा व्यक्तिगत नाममा दर्ता गराई आधुनिक व्यापारिक भवन छायादेवी बन्दै गरेको देखिन्छ । मुलुकको त्यस्तो वैभवपूर्ण धरोहर सुरक्षित गर्न यस विहारका गुठीयारहरुद्वारा धर्म किर्ति लोप नहुन दिन पोखरी नै कायम गराउने उद्देश्यले प्रमाण सहित जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । हाल विचाराधिन रहेको उक्त मुद्दाको अर्को पेशी चैत्र ६ गतेबाट २० गतेको लागि सारिएको अवस्थामा जिल्ला अदालतबाट कस्तो फैसला हुने हो हेर्न बाँकि नै छ ।

उक्त विषयमा थप अनुसन्धानात्मक जानकारी पढ्न यहाँ क्लिक गर्नुहोस् र स्थानीय अनुसन्धानकर्ताको अडियो अन्तर्वार्ता सुन्न यहाँ क्लिक गर्नुहोस् ।

No comments:

Post a Comment