निर्माणाधिन अपर मर्स्याङ्दी ए अनिश्चितकालका लागि बन्द
लमजुङको भुलभुलेमा निर्मााणाधिन ५० मेगावाट क्षमताको अपर मर्स्याङ्दी ए जलविद्युत आयोजना अनिश्चितकालका लागि बन्द भएको छ ।
मंगलबार , १३ फागुन २०७० १२:४० पम
नेपाल आदिवासी जनजाति महासंघ र आयोजनामा कार्यरत नेपाली मजदुरहरुले छुट्टा– छुट्टै माग राखी १३ फागुनदेखि आयोजनाको निर्माणकार्य अनिश्चितकालका लागी बन्द गराएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ लमजुङले अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नम्बर १६९ र सोही महासन्धीले प्रत्याभुत गरेको स्वतन्त्र अग्रिम जानकारी सहितको सहमति लागु गर्न माग गरेको छ ।
आयोजनाले स्थानीयवासीलाई पारेको प्रभाव र आदिवासी जनजातिको अधिकारका विषयमा पटक पटक जानकारी गराउँदा समेत आयोजना निर्माण पक्षले बेवास्ता गरेकाले बन्द आह्वान गरिएको महासंघ लमजुङका अध्यक्ष खेमजंग गुरुङले बताए । आयोजना निर्माण पक्षले आफुहरुको माग पुरा नगरे सधैँका लागी बन्द गर्ने समेत गुरुङले चेतावनी दिएका छन् ।
यसैबीच, आयोजनामा कार्यरत नेपाली मजदुरहरुले पनि विभिन्न माग राख्दै आयोजनाको काम बन्द गरेका छन् । मजदुरले पेश गरेको मागपत्रमा ज्याला बढाउनुपर्ने, कम्तीमा १५ देखि २० लाखको व्यक्तिगत विमा गरिनुपर्ने, संचयकोषको व्यवस्था हुनुपर्ने, सुविधा सम्पन्न प्राथमिक उपचार केन्द्रको व्यवस्था गर्नुपर्ने, बन्द गरिएको दिनको हाजिरी दिनुपर्ने लगायतका माग छ ।
आयोजना व्यवस्थापन पक्षले मजदुरको मागका विषयमा सहमति जनाएपनि कार्यान्वयन नगरेकाले पुन बन्द आह्वान गर्नुपरेको अखिल नेपाल उर्जा तथा खानी मजदुर संघका अध्यक्ष विष्णु तामाङले बताए ।
आयोजना बन्द गर्नुपुर्व मजदुरहरुले बेसीशहरमा प्रदर्शन गरेका थिए । आदिबासी जनजाति महासंघ र मजदुरका प्रतिनिधि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन संगै पुगेका थिए ।
यता प्रशासनले भने आयोजनाको निर्माण कार्य बन्द गरेर बार्ता हुन नसक्ने स्पष्ट पारेको छ । आयोजनाको सुरक्षा दिनु आफ्नो दायित्व भएको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले आयोजना निर्माण कार्य सुचारु राखेर समस्या समाधानमा लाग्न आग्रह गरेका छन् ।
मजदुरका जायज माग प्रति आफुहरु पनि संवेदनशिल भएको भन्दै प्रजिअ भण्डारीले संयमित भएर आफ्ना माग प्रस्तुत गर्न मजदुर पक्षलाई आग्रह गरे भने आदिबासी जनजाति महासंघले उठाएको आईएलओ १६९ को मुद्दा आफुले समाधान गर्न नसक्ने स्पष्ट पारे ।
विगत डेढ बर्ष देखि निर्माणकार्य शुरु भएको अपर मस्र्याङ्दी ए जलविद्युत आयोजनाको निर्माण कार्य यस बर्ष ७० प्रतिशत पूरा गर्ने लक्ष्य राखिएको छ । आगामी २४ महिनामा निर्माण सम्पन्न हुने उक्त आयोजनामा चिनियाँ सिनो हाईड्रो पावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी छ ।
आयोजना निर्माण कार्य शुरु भएपछि दर्जनौ पटक भएको बन्द हड्तालले तोकिएको समयमा आयोजना सम्पन्न हुनेमा निर्माण पक्ष शशंकित बनेको आयोजनाका जनसम्पर्क अधिकृत अर्जुन गुरुङले बताए ।
युवराज श्रेष्ठ, लमजुङ
Source: Himalkhabar.com
मजदुर आन्दोलनले मर्स्याङ्दी आयोजना बन्द
मिति : २०७० फागुन १३, मंगलबार [78 पटक पढिएको]
रामजी राना
|
लमजुङ : लमजुङको भुलभुलेमा निर्माणाधीन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत् आयोजना फेरि बन्द भएको छ। मजदुरले विभिन्न माग राखी आन्दोलन गरेका कारण आयोजना बन्द भएको हो।
स्थानीय युवालाई क्षमताअनुसार रोजगार दिनुपर्ने माग राख्दै मजदुर आन्दोलनमा उत्रिएका छन्। मजदुर आन्दोलनका कारण आयोजनाको सबै काम बन्द भएको आयोजनाका जनसम्पर्क अधिकृत अर्जुन गुरुङले जानकारी दिए।
नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् लमजुङको अगुवाइमा सोमबार जिल्ला प्रशासन कार्यलयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ। ज्ञापनपत्रमा मजदुरको दैनिक ज्याला ८ घन्टाको ६ सय रुपैयाँ हुनुपर्ने, २६ दिनको ज्याला २० हजार हुनुपर्ने, महिनामा चार दिन बिदाको व्यवस्था हुनुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा आयोजनामा काम गर्ने मजदुरको १५ देखि २० लाख रुपैयाँसम्मको बिमाको व्यवस्था हुनुपर्ने, मजदुरलाई सञ्चयकोषको व्यवस्था हुनुपर्ने, जोखिम भत्ता हुनुपर्ने माग पनि अघि सारिएको छ।
ज्ञापनपत्रमा आयोजना स्थलमा स्रोतसाधन सम्पन्न स्वास्थ्य सेवा केन्द्र हुनुपर्ने, २४सै घन्टा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, मजदुरले आन्दोलन गरेको दिनमा पनि भत्ता व्यवस्था हुनुपर्ने आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष खेमजंग गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्र बुझाउनुअघि आयोजनाका मजदुर, जनजति महासंघका पदाधिकारी, प्रभावित क्षेत्रका बासिन्दाले नाराजुलुस गरी प्रशासन कार्यालयमा धर्ना दिएका थिए।
वार्ताका लागि आग्रह
माथिल्लो मर्स्याङ्दी जनसरोकार समितिले विज्ञप्ति जारी गरि आफूहरू मजदुरका मागप्रति सकारात्मक रहेको भन्दै आयोजनामा हडताल बन्द गर्न छाडेर वार्तामा बस्न आग्रह गरेको छ।
सरोकार समितिका अध्यक्ष जीतबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आयोजना पक्ष, सरोकार समिति र मजदुर युनियनबीच आपसी सहकार्य, सहमतिमा विश्वासिलो वातावरण बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख छ।
जिल्लाका राजनीतिक दलले जलविद्युत् आयोजनामा कुनै बन्द हडताल नगर्ने प्रतिबद्धता जनाए पनि माथिल्लो मर्स्याङ्दी ए पटकपटक बन्द हुँदै आएको छ। मजदुर र स्थानीयको नाममा कतिपय समयमा असान्दर्भिक माग राखेर आयोजनालाई क्षति पुर्याएको जलविद्युत् क्षेत्रमा काम गर्ने प्रवर्द्धकले बताएका छन्।
आयोजना सुरु भएको एक वर्षमा करिब डेढ महिना बन्द भएको आयोजनाका जनसम्पर्क अधिकृत अर्जुन गुरुङले बताए। एक वर्षको अवधिमा स्थानीय बासिन्दाले कहिले रोजगारीको माग राखी बन्द गराएका थिए भने कहिले मजदुरले विभिन्न माग राखी आयोजना बन्द गराउँदै आएका थिए।
भुलभुलेको ङादीमा बाँध बाँधेर ६ दसमलब ५ किलोमिटर सुरुङबाट भुलभुलेकै वडा नम्बर ३ को मर्स्याङ्दी तटमा विद्युत् गृह निर्माण गर्ने आयोजनाको अहिलेसम्म झन्डै दुई किलोमिटर सुरुङ निर्माण भइसकेको छ।
Source: Annapurna Post
No comments:
Post a Comment