Tuesday, October 1, 2013

मकालु वरुण राष्ट्रिय निकुञ्जमा सेना परिचालन रोक्न आदिवासी जनजातिको माग

१० असोज २०७० 

नेपाल सरकारले मकालु वरुण राष्ट्रिय निकुञ्जमा स्थानीय आदिवासीहरुको स्वतन्त्र मञ्जुरी विना सेना परिचालन प्रक्रिया अघि बढाएर आदिवासीहरुको मानवअधिकारको हनन गरेकोमा त्यसको भत्र्सना गर्दै स्थानीय आदिवासी समुदाय र तिनका जातीय संस्थाहरुले सो प्रक्रिया तुरुन्त रोक्न माग गरेका छन् ।

मन्त्री परिषदका अध्यक्ष लगायत वन तथा भू–संरक्षण मन्त्रलाय, रक्षामन्त्रालय तथा सम्बन्धित सरकारी निकायलाई भदौ १० गते बुझाइएको ज्ञापनपत्रमा आदिवासी समुदाय र संस्थाका प्रतिनिधिहरुले सेना परिचालनको सट्टा समुदायको सहभागिता रहने संरक्षणको कार्यक्रम ल्याउन र त्यसको लागी आवश्यक आर्थिक सहयोग गर्न सरकारको ध्यानाकर्षण गरे । उनीहरुले वन्यजन्तु शिकार रोक्न र जैविक विविधताको संरक्षण गर्न स्थानीय आदिवासीहरुको नियन्त्रणमा हुने गरि सुरक्षा संयन्त्र गठन गर्न समेत माग गरेका छन् र यदि सरकारले आफुहरु विरुद्ध गलत कदम चालेमा विरोधको कार्यक्रम गर्ने चेतावनी पनि दिएका छन् ।

सेना परिचालनले स्थानीय कुलुङ, शेर्पा, याम्फु, सिङसावा, मेवाहाङ, र भोटे आदिवासी समुदायहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । जीविकोपार्जनका लागि जङगल र प्राकृतिक स्रोत साधनमा निर्भर हुने उनीहरु यसबाट वञ्चित हुने भएका छन् । सो प्रक्रियाले आदिवासीको अधिकार सम्बन्धी संयुक्त  राष्ट्रसंघीय घोषणापत्र,२००७ र अन्तराष्ट्रिय श्रम संगठनको आदिवासी तथा जनजाती सम्बन्धी महासन्धि आइ.एल्.ओ महासन्धि) १६९ को धाराहरु उल्लङ्घन भएको ज्ञापन पत्रमा उल्लेख छ ।

निकुञ्ज अधिकारीहरुले संखुवासभा र सोलुखुम्बुमा अवस्थित उक्त  निकुन्जमा वन्यजन्तु र जैविक विविधता संरक्षणका नाममा सेना परिचालन गर्न सम्बधित सरकारी निकायलाई सिफारिस गरेको थियो । यो निकुञ्ज पूर्वी हिमाली क्षेत्रको संखुवासभा जिल्लाको बुङ र छेस्काम गा.वि.स र सोलुखुम्बु जिल्लाको सिसुवाखोला, ताम्खु, माङटेवा, बाला, याफु, मकालु, हटिया, किमाथाङका, पाथिभरा र चेपुवा गा.वि.सहरुमा पर्दछ । यस निकुञ्ज वि.सं २०४८ सालमा सामुदायमा आधारित संरक्षण (Community Based Conservation)को अवधारणा अनुसार स्थापना गरिएको थियो ।
ज्ञापन पत्र पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Source: LAHURNIP

No comments:

Post a Comment