Showing posts with label Ethnic empowerment. Show all posts
Showing posts with label Ethnic empowerment. Show all posts

Wednesday, February 2, 2011

बाहुनवादको राजनीति

Posted on  

जातीय शसक्तिकरणाका नाममा भइरहेका आन्दोलनले सबै बाहुनलाई एउटै दृष्टिकोणले हेर्नु भएन ।
दिनेश वाग्ले
यो लेख पहिलोपटक शनिवारको कान्तिपुरमा प्रकाशित भएको हो ।
रामेछापको एउटा प्रतिष्ठित पण्डित परिवारमा जन्मिए पनि मैले आफू बाहुन भएको कुरा पहिलोपटक ११ वर्षको हुँदा बौद्ध, काठमाडौंको दोर्जे हाइस्कुलमा थाहा पाएको थिएँ । सन् १९९० को सुरुतिर म अंग्रेजी माध्यमको त्यो तिब्बती बोर्डिङ स्कुलमा होस्टलमै बस्नेगरी प्राथमिक तहमा भर्ना भएको थिएँ र तत्कालै थाहा पाएँ, त्यहाँ पढ्ने म तेस्रो ब्राह्मण थिएँ- अन्य दुई संयोगले रामेछापकै चौलागाईं दाजुभाइ थिए । तिब्बती मूल र पृष्ठभूमिका विद्यार्थीको बहुलता भएको उक्त स्कुलमा साथीहरू हामीलाई ‘बाहुन’ भनी बोलाउँथे र टुप्पी किन नराखेको भनी जान्न चाहन्थे । त्यसैबेला गीत हिट भएको हिन्दी फिल्म ‘आशिकी’को हिरोकै जस्तो कपालको फेसन चलेको थियो र त्यो शैली स्कुलभरिमा मलाई सबैभन्दा सुहाएपछि मेरो छवि ‘टुप्पी नभाको बाहुन’बाट ‘कुल आशिकी बाहुन’मा बदलिएको थियो- बस् एक सनम चाहिए, आशिकीके लिए !
तिब्बती पनि पढाइने हुने स्कुल रमाइलो भए पनि केही वर्षमै छाडेँ र कौशलटार, भक्तपुरको जनप्रेमी इङ्लिस स्कुलमा भर्ना भए जो आचार्य थरका कुशल ब्राम्हणले चलाएका छन् । वितेका बर्षहरुमा देशमा ‘बाहुन’बारे बहसले दिनहुँ उचाइ लिइरहेको छ, जसलाई म प्रायः रुचिपूवर्क पछ्याउँछु । केही महिनाअघि वेबसाइट ‘युनाइटेट बी ब्लग’मा छापिएको एउटा टिप्पणीले मलाई पुनः आफू बाहुन भएको कुरा सम्झाएको थियो भने गतसाता दक्षिण अफ्रिका मानवअधिकारवादी यास्मिन सुकासँगको भेटले यो लेखका लागि प्रेरित गरेको हो । नाम सुन्दा पटक्कै हिन्दू नलाग्ने ती हिन्दू महिला ब्राह्मणबारे जान्न चाहन्थिन् । ‘दिस होल ब्राह्मण थिङ इन नेपाली सोसाइटी इन्टि्रग्युज मि’, सत्यनिरूपण तथा मेलमिलाप आयोगबारे चर्चा चलिरहँदा कुरैकुरामा उनले मलाई चकित पार्दै भनेकी थिइन् । (नेपाली समाजको यो ब्राह्मण भन्ने कुराबारे जान्न मलाई निकै रुचि छ ।)
‘के तपाईं पनि बाहुनी हुनुहुन्छ हो ?’ मैले सोधेँ । आफू दक्षिण भारतबाट दक्षिण अफ्रिका बसाइँ सरेको हिन्दू परिवारकी तेस्रो पुस्ताकी सदस्य भएको उनले पहिल्यै बताएकी थिइन् ।
‘होइन’, उनले भनिन्- ‘हामी हिन्दू भए पनि दक्षिण अफ्रिकामा जातभात छैन । यो उत्तर भारत र नेपालमा मात्र हो । दक्षिण अफ्रिकामा गान्धीले गर्दा जातीय विभेद रहेन । उहाँले आफ्नै पत्नीलाई समेत नाली बढार्ने जस्तो काम गर्न प्रेरित गरेर बाँकी समाजमा उदाहरण कायम गर्नुभयो ।’
हाम्रामा गान्धीजस्ता सुधारवादी भएनन्, जसले गर्दा अहिलेसम्म जातीय विभेद र सशक्तिकरणकै मुद्दामा अल्भिmइरहनुपरेको छ । अझै केही भन्लिन् भन्ठानिरहेको बेला यास्मिनले फुत्त सोधिन्- ‘आर यु अ ब्राह्मण ? (के तपाईं ब्राह्मण हो ?)’
त्यो र त्यस्तै अर्को प्रश्न (तपाईं के थरी ?) सधैं मेरालागि अप्ठेरो हुने गरेका छन् र तिनको सोझो उत्तर दिन मन लाग्दैन । कुनै जमानामा ब्राह्मण हुनु फेसनेबल, इज्जतिलो र मृत्युदण्डजस्ता सजायबाट बच्ने उपाय थियो होला । तर मैले आफू ब्राह्मण हुनुमा कहिल्यै गौरव गरेको छैन । ‘हुँ’ मैले भनेँ र सांस्कृतिकभन्दा राजनीतिक परिचयतिर जोड दिँदै थपेँ- ‘तर होइन । कम्तीमा देशमा बाहुनबारे जारी वादविवादका सन्दर्भमा म परम्परागत रूपमा अथ्र्याइने बाहुन होइन ।’ ‘परम्परागत बाहुन’ म स्कुलदेखि नै थिइन । होस्टलमा भैंसीको मासु अनिवार्य र सबैभन्दा मीठो मध्येको खान्की थियो ।
त्यसपछि मैले ब्लग.कम.एनपीमा छापिएको ‘बाहुनिस्ट्स एन्ड बाहुनिजम : केयरटेकर्स अफ नेपाल्स फिउडल ट्रेडिसन‘ (बाहुनवादीहरू र बाहुनवाद : नेपालको सामन्ती परम्पराका संरक्षकहरु) शीर्षकको त्यो विश्लेषण सम्झिदै यास्मिनलाई भनेँ- ‘केही वर्षयता नेपालमा ‘बाहुन’बारे खुबै विवाद चलेको छ । म जन्मले बाहुन हुँ, तर सोचले बाहुनवादी होइन । बाहुनवाद एउटा खास सोच हो, जो बाहुनसँगै मात्र हुन्छ भन्ने छैन, एउटा राई या घले या परियार पनि बाहुनवादी हुनसक्छन् ।’
बोस्टनका ब्राह्मण
अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टन सहर स्थापना गर्ने र न्यु इङल्यान्ड क्षेत्रमा बस्ने ब्रिटिस प्रोटेस्टेन्ट पृष्ठभूमिको एउटा सम्भ्रान्त वर्गलाई अमेरिकामा ँबोस्टन ब्राह्मण’ या बोस्टनको ‘पहिलो परिवार’ भनिन्छ । जातका कारण त्यसो भनिएको होइन । इन्टरनेट इन्साइक्लोपेडिया विकिपेडियाका अनुसार बोस्टन ब्राह्मणहरू कला, संस्कृति, विज्ञान, राजनीति, व्यापार र प्राज्ञिकतामा अति प्रभावशाली र नेतृत्व तहमा थिए । संस्कृत शब्दको अमेरिकी प्रयोग एटलान्टिक मन्थ्ली पत्रिकाको एउटा लेखमा ओलिभर वेन्डेल होल्म्स सिनियरले गरेका थिए । अमेरिकी स्वतन्त्रता घोषणा पत्रमा हस्तारक्षर गर्ने मध्येका एक र मासाचुसेट्सका चौथा गभर्नर स्यामुअल आडम्स (१७२२-१८३०) को परिवार लगायत क्याबोट्स र चाफिजका सन्ततिलाई ‘बोस्टन ब्राह्मण’ भनिन्छ ।
‘बाहुनवाद’ भन्ने शब्द मानवशास्त्री डोरबहादुर बिष्टले प्रयोगमा ल्याएका हुन् क्यारे । मैले उनको निकै उद्धृत गरिने किताब ‘फ्याटालिजम एन्ड डेभलपमेन्ट इन नेपाल’ पढेको छैन । तर लाग्छ, ‘बाहुनवाद’ कुनै नियोजित उद्देश्य भएको आन्दोलन होइन । यदि हो नै भने पनि अन्य जातिहरू संगठित भएको अवस्थामा केही बाहुनहरूले कुनै संगठन खोले भने त्यसमा के आपत्ति । प्रस्ट पारौं- त्यस्ता कुनै पनि संस्थाको म सदस्य हुनेछैन, किनकि नम्बर एक- जातीयतामा मेरो कत्ति विश्वास छैन र त्यसका आधारमा गरिने विभेदलाई स्वीकार्ने कुरै भएन । मेरो टाउको दुखाउने सबैभन्दा ठूलो कुराचाहिँ बाहुनवादको विरोध गर्दा किन सबै बाहुनलाई एउटै घानमा हाल्ने ? किन ‘बाहुनवादी जनजाति’को प्रसंग नकोट्याउने ? बाहुन हैकमविरुद्ध आन्दोलन गर्नेले कसरी आफ्नो जातको हैकमको पक्षमा तर्क गर्न मिल्छ ? अधिकार सबैका लागि बराबर हुनुपर्छ होइन ? हो भने संघीयताको कुरा आउँदा किन देशलाई जातीय आधारमा विभाजन गर्नुपर्छ भनिन्छ ? पक्का हो, राजनीतिमा बाहुनहरूको पकड तोड्दै शासन पद्धतिमा सबै जातिको समान भनाइ स्थापना गर्ने भनिएका सबै आन्दोलन आवश्यक छन् तर तिनीहरूको नेतृत्वमा एउटा कमजोरी छ- मूल समस्या समाधान गर्नेतिर भन्दा कसरी मुद्दालाई तन्काइरहन सकिन्छ ताकि जातीय उत्थानका नाममा राजनीतिलाई निरन्तरता दिन पाइयोस् ।
एकाध प्रसंगमा आरक्षण उपयोगी होला, तर त्यसकै नाममा प्रतिस्पर्धालाई पाखा लगाउनुपर्छ भन्नु अक्षमहरूले गर्ने तर्क हो । सक्नेले खुला प्रतिस्पर्धामा उत्रनुपर्छ । केही साताअघि शिक्षामन्त्री प्रदीप नेपालले गरेको प्रश्न मलाई घत परेको छ- विश्वविद्यालयका महत्त्वपूर्ण पद नियुक्तिमा प्राज्ञिकतालाई प्राथमिकता दिने कि लैंगिकतालाई ? बाहुन हुँदैमा अवसर दिनुपर्छ या त्यसबाट वञ्चित गराइनुपर्छ भन्ने खालका विचार सुन्दा मलाई झोँक चल्छ ।
चलिरहेको विवादमा मलाई पत्यार नलाग्ने एउटा कुरा- राजनीतिक दृष्टिले फरक ध्रुवमा रहेकाहरू ‘बाहुन’ जातिको हितका लागि एउटै थलोमा आउँछन् भन्ने तर्क हो । जस्तो कि माओवादीको अध्यक्षमा पनि बाहुन, काङ्ग्रेसको सभापतिमा पनि बाहुन, निर्वाचन आयोगका प्रमुख पनि बाहुन र त्यो सब हुनमा बाहुनहरूको योजनाबद्ध एकता छ भन्ने खालका तर्कले मलाई चिन्तित तुल्याउँछ ।
‘युनाइटेड वी ब्लग’को त्यो लेखको एउटा अंश यस्तो छ- ‘बाहुनवादीहरूको कार्यशैलीको ‘सुन्दर पक्ष’ उनीहरू त्यो सब लोकतन्त्र, समावेशी, समानता र सामाजिक सद्भावका नाममा गर्छन् । अल्पमतको अधिकार, कमजोर र थिचोमिचोमा परेकाहरूका लागि आफूहरू रहेको र सबैभन्दा लोकतान्त्रिक रहेको छवि प्रवाहित गर्छन् ।’
लेखका मुनि त्यसका पक्ष र विपक्षमा लामो तर्कको सिलसिला चलेको छ । ‘स्पर्श’ नामका एकजना भन्छन्- ‘के नेपाली समाजमा व्याप्त अव्यवस्था र नकामका वास्तविक दोषी बाहुनहरू हुन् ? आफ्ना बेकामे बच्चाहरूलाई पनि राम्रो स्तर दिलाउन पण्डितहरूले गरेको धार्मिक भ्रष्टाचार मुख्य मुद्दा रहिआएको छ । मलाई लाग्दैन, हामीले बाहुनहरूलाई चुनाव लड्नबाट रोक्न सक्छौं । प्रार्थना गर्ने र मन्दिर जाने सांस्कृतिक पक्ष रहिरहनेछ । थिचोमिचोमा परेकाहरूको शैक्षिक र आर्थिक स्तर उकास्नुमा (त्यो प्रश्नको) उत्तर छ र नयाँ राजनीतिक वातावरण (त्यसका लागि) एउटा अवसर हो ।’
 
 
Rate This