७ चैत्र २०७०, काठमाडौँ
काठमाडौँको पर्यटकीय क्षेत्रमा निर्माणाधीन “ठमेलभित्रको ठमेल” भनेर चिनाइएको छायाँदेवी कम्प्लेक्सको निर्माणको लागि नजिकै रहेको थं विहारका परम्परागत कार्यको लागि प्रयोग गरिँदै आएको प्राचीन कमल पोखरीको गुठी जग्गा हरण हुने भएको छ ।
सात व्यवसायीको ३ अर्ब रुपैयाँ लगानी रहेको सेन्टर आगामी दुई वर्षभित्र संचालनमा आइसक्ने छ । मल्ल होटलको पछाडी करिव १५ रोपनी क्षेत्रफलमा छायाँदेवी कम्प्लेक्सले व्यवसायिक भवन निर्माण गर्न लागिएको हो । सो कम्प्लेक्सको निर्माणको लागि नजिकै रहेको थं विहार (विक्रमशील महाविहार)को परम्परागत धर्मकृतिको लागि प्रयोग हुने गरेको कमल पोखरीको जग्गा पनि प्रयोग गर्न लागिएकोे छ । उक्त विषयमा उक्त महाविहारका ६ जना गुठियारहरुले पोखरी गुठी जग्गाको रुपमा सार्वजनिक नै रहनुपर्ने माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरी मुद्दा विचाराधिन अवस्थामै रहँदा पोखरी भित्र पर्ने गरी निर्माणस्थल वरिपरि पर्खाल लगाएर कम्प्लेक्सको निर्माणकार्य धमाधम अघि बढाइएको छ ।